पद्म कन्या र म : अंगूरबाबा जोशी

पद्म कन्या र म : अंगूरबाबा जोशी

2023-06-23

 

बनारसबाट पढेर काठमाण्डुमा २०११ सालमा फर्के पछि म पद्म क्नया कलेजमा पढाउन थालेँ । त्यति बेला कलेज डिल्लीबजारको पद्म कन्या स्कूलको माथि थियो । मैले बि.ए.को राजनीति शास्त्र पछाउँथेँ, जम्मा चार जना छात्रालाई ! बि.ए. कक्षाको उद्घाटन त्यति बेलाकी युवराज्ञी श्री ५ रत्नबाट भएको थियो, र मैले स्वागत भाषण गर्नु परेको थियो । 

तीन वर्ष पछि म बेलायत पढ्ने जाने बेलामा कलेजबाट अध्ययन बिदा लिएर गएकी थिएँ । फेरि काठमाण्डु फर्किए पछि म कलेजमा भर्ना भएँ । त्यति बेला कलेज टुकुचाको पुल छेउको सानो घरमा सरेको थियो ।  त्यसको लगत्तै पछि, २०१८ साल जेठ २५ गतेमा प्रिन्सिपलको रूपमा हाजिर भएँ । मैले बिस्तारै बिस्तारै आफुले बनारस र बेलायतमा पढ्दाखेरिको अनुभवको आधारमा, र सबै साथीभाईको सहमति लिई,  पद्म कन्यालाई रुपान्तरण गर्दै लगेँ ।  

विद्यार्थी र शिक्षकहरूका लागि “कमन रूम” को व्यवस्था गरेँ ; मासिक विद्यार्थी प्रतिनीधि सहितको स्टाफ मिटिङ गर्ने परम्परा बसालेँ; कलेजको चौथो वर्ष समाप्त भएपछि बिदाई समारोह गर्ने परम्परा बसालेँ । तर यो भन्दा आत्मसन्तुष्टि मलाई कलेजको नयाँ भवन निर्माण गरेकोमा लाग्छ । 

हामीले जग्गा खोज्यौँ । बागबजारमा फेला पर्‍यौँ । अनि सञ्चालक समितिको तर्फबाट सरकारलाई अधिग्रहण गर्नका लागि गरेको पहलले काम गर्‍यो । जग्गा पाउना साथ भवन बनाउने काम अघि सार्‍यौँ । भवन बिभागले पहिला निकै फुलबुट्टे नक्सा कोरेको थियो । तर मैले, “यो त कलेज हो सादा बनाउनु पर्छ  । बरू सरस्वतीको मन्दीर भएकोले  यसमा गजुर हालौँ” भने । तीन तले भवन पनि बन्यो, अनि सुनको जलप लगाएर गजुरपनि बस्यो । उद्घाटन हुने दिन ( २०२६ भाद्र ३ गते) उद्घाटन गर्ने श्री ५ रत्न मात्र होइन, श्री ५ महेन्द्र लगायत सम्पूर्ण राज परिवार सवारी भएको थियो । वहाँहरूले सबै तला र कोठाहरू निरिक्षण गरिब्स्यो । गजुरको कुरो सुनाउँदा राजाले “तपाईँले त सुनको गजुर बनाउनु भयो, मेरो त तामाको गजुर छ!” भन्दै हाँसिबक्स्यो! ।

श्री ५ रत्नलाई कार्यक्रममा स्वागत गर्दै अंगूरबाबा जोशी

भवन बने पछि हामीले पढाई र कार्यक्रम बढाउन ध्यान दियौँ । मानविकीका विषयहरू मात्र पढाइने कलेजमा हामीले विज्ञान संकाय खोल्यौँ । विज्ञानको प्रयोगशाला बनाउन मेरो श्रीमान स्व० प्रा० डा० बलराम जोशीले निकै दु:ख गरिबक्स्यो । हामी छिटै विज्ञान प्रदर्शनी पनि गर्‍यौँ । सो प्रदर्शनी हेर्न श्री ५ महेन्द्र पनि सवारी भएपछि निकै चर्चा चल्यो । अनि त  विज्ञान पढ्न आउने नानीहरूको ताँती नै लाग्न थाल्यो । तेस्रो श्रेणीनै ल्याएका भएपनि दुर्गम जिल्लाका नानीहरूलाई सो संकायमा भर्ना हुन पाउन् भनेर मैले बढि प्राथमिकता दिन्थेँ  । 

कलेजमा बिस्तारै न्याश्‍नल क्याडेट कोर, सेक्रटेरियल साइन्स, नेपाली लोकगीत र लोकनृत्य, र गाउँ सेवा जस्ता कार्यक्रम पनि थालिए ।  तत्कालिन श्री ५ को सरकारले गाउँ फर्क अभियान ल्याउनु भन्दा अगाडि नै मैले नानीहरू र शिक्षकवर्ग सबैलाई पालैपालो गरि गाउँसेवामा लगिसकेकी थिएँ । पछि नेशनल डिभेलप्मेन्ट सर्भिस पनि सुरु भयो ।  कलेजमा हरेक शुक्रबार पछाइ सकिए पछि दुई घन्टाको अतिरिक्त कृयाकलाप हुन्थ्यो, जस्तै प्रवचन, बादबिवाद, हाजिरी जवाफ साहित्यिक कार्यक्रम ई०। यो कार्यक्रममा बिभिन्न क्षेत्रका विशेषज्ञ पाहुनाहरू पनि बोलाइन्थ्यो । म पनि यो शुक्रबारे कार्यक्रममा सँधै उपस्थित हुन्थेँ । 

हरेक वर्ष, पहिलो वर्षको पहिलो कक्षा म नै लिन्थेँ , र नव आगन्तुकहरूलाई कलेजको वातावरण, सिद्धान्त, पोसाक, प्रतिष्ठा महत्व अदिका बारेमा बताउँथेँ । एकनासको घरेलु पोसाक सबैलाई समान व्यवहार गर्ने, राष्ट्रभक्ति र सेवाभाव अभ्यास गराउनका लागि गरिएको हो भनेर बताउँथेँ । 

कलेजका प्राध्यापक साथीहरूसित गाउँतिर जाँदा

पद्म कन्या कलेजको गजुर, त्यहाँका विद्यार्थीको गेरुवा पोसाक र प्रिन्सिपलको नाममा ‘बाबा’ पनि गाँसिएकाले धेरैले हामीलाई जिस्काउने निहुँ पाएका थिए !

प्रिन्सिपल भएका बेलामा मेरो सिद्धान्तमा अढ्ने बानीले निकै संघर्ष गर्नु परेको थियो, चाहे त्यो विद्यार्थीको भर्नाको विषयमा होस्, या शिक्षकको दरबन्दी बारेमा होस् । आखिरमा जहिले पनि पनि सत्यकै जीत हुन्थ्यो!

 

प्रिन्सिपल भएको १२ वर्षमा, जब म राष्ट्रिय पञ्चायतमा मनोनित भएँ, मैले आफ्नो पदबाट राजिनामा दिएँ । दुई दशक कलेजमा रहँदा मेरो कहिले पनि पदोन्नति भएन । तर कलेजको सेवा नै मलाई यति सुखदायी र तृप्ति दिने खालको थियो कि पदोन्नति नहुँदा पनि मलाई बिशेष फरक पर्दैनथ्यो ।  कलेजमा नि:स्वार्थ सेवा गर्दाको जीवन मेरो लागि कहिल्यै नबिर्सने, आनन्ददायी, सुखद क्षण थिए । कलेज सञ्चालक समितिका अध्यक्ष स्व० श्री तारामान सींह स्वाँरज्यू, प्राध्यापक, कर्मचारी, विद्यार्थीहरूबाट मैले सँधै धेरै सहयोग, प्रेरणा र प्रोत्साहन पाएँ । मैले पद्म कन्या कलेजको हरेक दिन सम्झँदा यी सम्झनाहरूले मात्र पनि मलाई साह्रै आत्मसन्तुष्टि  प्रदान गर्छन् ! तत्कालिन प्राध्यापक र नानीहरू सबैलाई शुभकामना सहित आशीर्वाद दिन्छु ।


Files

S.N Name Type Download
1 Photo jpg
2 Photo1 jpg